May 21, 2026 Thursday
सुझाव

जीवनका लागि खेलकुद

Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२फाल्गुन१०
जीवनका लागि खेलकुद

मानिस आफ्ना दैनिक गतिविधिमा सधैँ व्यस्त देखिन्छन्। यहाँ हरेक मानिस व्यस्त हुने क्षेत्र फरक–फरक रहेका छन्। एउटा मजदुरी व्यक्ति आफ्नो मजदुरीको क्षेत्र कसरी फराकिलो पारेर आफ्नो परिवारको हातमुख जोड्ने होला ? भन्ने विषयमा अल्झिरहेको हुन्छ भने अर्को व्यापारी कसलाई कति सम्म आफ्ना गतिविधि, आय–व्ययहरूलाई कुन कुन निकाय र व्यक्तिसँग सम्पर्क बढाएर आफ्नो व्यापारको क्षेत्र बढाउन सकूँ ? भन्ने विचारमा व्यस्त हुन्छ।
यहाँ यस्ता क्षेत्र फरक छन्, अनि ती क्षेत्र अनुसार व्यस्त रहने मानिसको जमात पनि। एउटा बालकदेखि वृद्ध अवस्थाका मानिसमा विभिन्न विचार, चिन्ता र व्यवहारले घेरिरहेको हुन्छ, हरेक क्षण हर समय। यस्ता अनेकन् विचार र व्यवहारमा अल्झिरहँदा आजको मान्छे वैचारिक रोगबाट ग्रसित भएका छन्।
जीवन एक अमूल्य सम्पत्ति हो। यसको संरक्षण गर्नु हाम्रो दायित्व हो। मानव मस्तिष्क खुकुलो भएर आज संसारभरि अराजक गतिविधिहरू फैलिरहेका छन्। जब मान्छे कामविहीन हुन्छ, तब अनावश्यक गतिविधिलाई बढी प्राथमिकता दिन विवश र बाध्य हुन्छ। फलस्वरूप अराजकीय क्रियाकलाप घट्न जान्छ र ठूला–ठूला हानी नोक्सानी अनि क्षति हामी आफैले बेहोनर् लाचार हुन्छौं।
हाम्रो शरीरलाई तन्दुरुस्त र व्यस्त राख्न विभिन्न योग, व्यायाम तथा खेलमा सहभागी हुन सक्छौं। मानिसका मानसिक, शारीरिक, मनोवैज्ञानिक तथा बौद्धिक स्वास्थ्यसँग खेलकुदको गहिरो सम्बन्ध रहेको हुन्छ। त्यसैले खेलकुदलाई मानव जीवनको एक महत्वपूर्ण अङ्गका रूपमा लिने गरिन्छ। एउटा स्वस्थ मस्तिष्कका लागि स्वस्थ शरीरको आवश्यकता पर्छ। त्यो मानिसको सबैभन्दा ठूलो आनन्द र सन्तुष्टि भनेकै स्वस्थ शरीर हो। जसरी एउटा सबल र सक्षम कृषकलाई खेतीपातीका लागि विभिन्न औजारहरूको आवश्यकता पर्छ, त्यसैगरी मानिसले आफ्नो जीवन स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न खेलको आवश्यकता पर्छ।
अत्यधिक रूपमा बढिरहेको अमानवीय क्रियाकलापको गतिविधिले गर्दा देशका सुगमदेखि दुर्गम ठाउँसम्मका मानिसका मानसिकतामा अनेकथरीका तर्क–वितर्कले जरो गाडेको छ। यसले मानिसको मानसिकता रोगी बनाएको छ, जसको असर सिङ्गो शरीरलाई परिरहेको हुन्छ र जसले गर्दा मानिस पूर्ण रूपमा स्वस्थ हुन सकेको छैन।
मानिसलाई सुख र आनन्दको अनुभूति गराउन स्वस्थ शरीरको भूमिका महत्वपूर्ण हुन्छ, हो त्यही स्वस्थ शरीरका लागि खेलकुदको। आजको समाजमा कयौँ समस्या र चुनौती एकपछि अर्को गर्दै बढिरहेका छन्। यी चुनौतीसँग ठोकिँदा–ठोकिँदा मानिस अपाङ्ग बनिसकेको छ। यस्तो अवस्थाबाट निरोगीपनको कल्पना गर्न निकै कठिन देखिन्छ। आफ्नो स्वास्थ्य निरोगी र स्वस्थ बनाउन मानिसले आफ्नो मनोवैज्ञानिक तथा बौद्धिक मानसिकतामा जरो गाडेको विकृतिलाई हटाएर खेलकुदसँग सम्बन्ध अघि बढाउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ।
खेलले मानिसको मनोवैज्ञानिक कौशलतामा समेत निखारता ल्याउँछ। शरीरलाई स्वस्थ, व्यस्त र तन्दुरुस्त राख्न सहयोग पुर्‍याउँछ।
सामाजिक समृद्धि र एकताको आधारशिला तयार पार्न खेलकुदको विकासले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। राज्यले खेलकुदका लागि नयाँ नीति र दृष्टिकोण बनाएर अगाडि बढ्न आवश्यक छ। खेलका विभिन्न माध्यमबाट हामी विश्वसामु परिचित हुन सक्छौं। यति मात्र नभएर आफ्नो गौरव बढाउन पनि हामी खेलकुदकै सहारा लिन सक्छौं।
हामी हाम्रो स्वास्थ्य वा जीवनसँग मात्र सम्बन्धित हाम्रो पहिचान र समृद्धि बढाउनका लागि पनि हरेक भूभागमा रहेर फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल, बक्सिङ, कराँते आदि खेलमा सहभागी रहेका हुन्छौं। खेलकुदको पूर्वाधार विकासका लागि राज्यले विशेष पहल गर्नु अपरिहार्य र अनिवार्य आवश्यकता रहेको देखिन्छ। खेलकुदलाई मनोरञ्जनका साधनका रूपमा मात्र लिन हुँदैन, यो त मानवको अमूल्य सम्पत्ति शरीरसँग जोडिएको हुन्छ।
एउटा भनाइ नै छ— “स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट सुन्दर भविष्यको रूपरेखा कोर्न सकिन्छ, सुखी जीवन र खुशी संसारबाट मात्र संसारका सबै वस्तु प्राप्त गर्न र उपभोग गर्न सकिन्छ।”
हो, वास्तवमा एउटा बालकलाई पनि हात समातेर हिँड्न सिकाइन्छ। जब–जब ऊ अलिअलि हिँड्न बोल्न सक्ने हुन्छ, तब उसलाई स्वतन्त्र हिँड्ने अभ्यास गराइन्छ। बालक लड्दै–ठोकिँदै विविध कुराहरूसँग जुझ्दै आफैँ हिँड्न सक्ने हुन्छ। त्यसपछि ऊसँगै उसका परिवार पनि खुशी हुन थाल्छन्। व्यक्ति देखि परिवार, परिवार देखि समाज, देश र सिङ्गो राष्ट्र नै खुशी हुने माध्यम वा साधन जे भने पनि यही खेलकुद हो।
यसले रोगी मानिसलाई रोगमुक्त र चिन्तित मानिसलाई चिन्तामुक्त बन्ने हौसला प्रदान गर्छ। खेलकुदलाई इतिहासमा सुख र मनोरञ्जनसँग जोडेर हेर्ने गरिन्थ्यो, तर आजभोलि यसलाई स्वास्थ्यसँग जोडेर हेर्ने गरिन्छ। यसमा कुनै विशेष समूहका व्यक्तिहरू मात्र नभएर विभिन्न उमेर समूहका मानिसहरू सहभागी हुन थालेका छन्, किनकि यो स्वास्थ्यसँगसँगै देशको इज्जत र प्रतिष्ठासँग पनि गाँसिएको छ।
खेलकै माध्यमबाट खेलाडीले आफ्नो सिप र क्षमतालाई विश्वसामु फैलाउने मौका भेटाएका छन्। यसले कसैमा पनि मतभेद सिर्जना हुन नदि सबैमा समानता कायम गरेको छ। नेपालमा खेलकुदका लागि विकासात्मक कार्य नभएका होइनन्, जति कार्य भए पनि ती सबै बालुवामा पानी खनाए सरह भएको छ। खेलकुदका लागि गरिएका ती कार्यअनुसार यसले जति फड्को मार्नु पर्ने हो त्यो हुन सकेको छैन, यो हाम्रा लागि चिन्ताको विषय बनेको छ।
यहाँ हरेक व्यक्ति खेलका लागि सक्षम र दक्ष छ, तर खेलप्रति नयाँ पुस्ताको मानसिकताले फड्को मार्न सकेको छैन। खेलका माध्यमबाट जित स्थान हासिल गर्नु पर्ने त्यो त्यति प्राप्त हुन सकेको छैन। हुनुपर्ने उपलब्धि न्यून र जीर्ण बन्दै गएको देखिन्छ।
खेलकुदकै माध्यमबाट देशले विकासका धेरै योजनाहरू बोकेको देखिन्छ। यी सम्भावनालाई सफलतामा परिणत गर्नका लागि सम्बन्धित निकायले यसलाई प्राथमिकतामा राखेर यसको संरक्षण र सम्बर्धनका लागि नयाँ रणनीति अवलम्बन गर्नु पर्दछ। खेलकुदमा भइरहेको राजनीतिकरणलाई निर्मूल पार्नु पर्छ।
हाम्रो स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदलाई व्यावसायिकतर्फ उन्मुख हुन रोक लगाउनु पर्छ। खेलाडी उत्पादनमा प्रशिक्षितहरूको खोजी कार्यलाई मर्यादित र व्यवस्थित गरिनु पर्दछ। हाम्रो धरातल र सुखी जीवनको पर्यायको आधारशिला मानिएको खेलकुद साँच्चै जीवनका लागि निकै आवश्यक र उपयोगी मान्न सकिन्छ।
देशको अर्थतन्त्र सुधारका लागि मूलमन्त्रका रूपमा रहेको खेलकुद एउटा खेलमा मात्रै सीमित नभएर रोगी शरीरको एउटा औषधिको पर्याय पनि हो। जसरी ज्वरो आएका बिरामीले एक क्याप्सुल सिटामोल खाएर आफ्नो ज्वरो कम भएको महसुस गर्न सक्छ, ठीक त्यसैगरी मानसिक वा शारीरिक रूपमा रोगग्रस्त रहेको मानिसले खेलका माध्यमबाट आफ्नो मानसिक तथा शारीरिक रोगलाई निर्मूल पार्दै स्वस्थ र स्फूर्त बन्ने अवसर प्राप्त गर्छ।
यसैले खेलकुदलाई मानव जीवनको पर्याय मानिन्छ, जुन स्वस्थ र निरोगी जीवनको एक अमूल्य जडीबुटी पनि हो।
धन्यवाद!

लेखक  नाम: अप्सरा दुलाल
मेलम्ची न.पा.–११, सिन्धुपाल्चोक
९८६९०००६५६
dulala825@gmail.com

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११
जीवनका लागि खेलकुद
२०८२फाल्गुन१०
साहित्य पढ्ने मात्र होइन, महसुस गर्ने प्रयास: ‘एक चिहान’ रंगमञ्चमा
२०८२माघ२१
साधारण पहिरन, असाधारण नेतृत्व
२०८२माघ२१