August 30, 2026 Sunday
सुझाव

कविता:याे बेला प्रेम गर्ने बेला हैन

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२कार्तिक११
कविता:याे बेला प्रेम गर्ने बेला हैन

कविता:

प्रेममा चुर्लुम्म डुबेर
तिम्रो आँखाको सागरमा पौडिएर
हृदयको मोती चोरेर
तिम्रै गलामा सजाइदिन्छु भन्ने उमेर-
रगतमा चुर्लुम्म डुबेर
आन्दोलनमा लाठी र बन्दुकसँग भिडिरहेको छ……

औंलालाई बनाएर काइँयो
तिघ्रालाई बनाएर सिरानी
यो भन्दा सुन्दर समय कुनै छैन भन्दै
केशराशी कोरिरहनेहरू
काँडेतारको काडाले कोरिएर
सडकलाई बनाएर सिरानी
अहिले नगरे देश कहिल्लै बन्दैन भनेर
पुरानो जब्बर चायाँ हटाउन लडिरहेछन् ….

हातमा हात समाएर मायाको कसम खाँदै
तिमी भन्दा मेरो लागि
यो दुनियाँमा कोहि/ केही छैन भनेर
परिवार, आफन्त र देश पनि बिर्सने उमेर
परिवार, आफन्त र देशको भविष्य सुन्दर बनाउन
हातमा हात समाएर आन्दोलनमा छन्

कर्फ्यु तोड्दै छन्…….

प्रेमिल गीत गाएर

एकापसमा मन्त्रमुग्ध भएर

आँखामा आँखा जुधाएर

सासमा सास जुधाएर
गहिरो चुम्बनमा हराउने उमेर
मुर्दाबाद !, जिन्दाबाद ! भन्दै
एउटा जब्बर शाशकसँग आँखा जुधाउदा जुधाउदै
अन्तिम सास फेरिरहेछन्

हातमा लिएर गुलाबको फुल
खल्तिमा बोकेर औंठी
मुटुभरी मायाको सागर छल्काएर
हृदयभरी लेखेर प्रेमका हरफ
भेट्ने भनेको ठाउँमा पुग्नुपर्ने उमेर

हातमा लिएर मसाल

खल्तिमा बोकेर सरकार बिरुद्धको पामप्लेट

हृदयभरी लिएर आक्रोश
माइतीघर मन्डला पुगिरहेछ …….

रातभर आफ्नो प्रेमी सम्झेर तड्पिने छाती

देशको हालत सम्झेर छट्पटीएको छ
रातभर उसैलाई सम्झिएर भिज्ने आँखा

देशको अवस्था देखेर बर्सिएको छ
एकार्कालाई भेटेर फिल्म हल या पार्कमा भेटिनेहरू

संसदभवन या सिंहदरबारमा बुलन्द आवाजमा भेटिईरहेछन्

सडक पेटीमा रोइरहेको उ-
आफ्नी प्रेमिकाको बियोगमा रोइरहेको छैन
सडकमा ढलेकी उ-
आफ्नो प्रेमीको बिछोड खप्न नसकेर ढलेकी हैन
यी युवाहरू जो सडकमा छन्

प्रेम गर्न निस्केका हैनन्

ओ पाकेको समय !
यो प्रेम कविता लेखेर बस्ने समय हैन ……..
ओ पाकेको उमेर !
यो प्रेम गरेर बस्ने बेला हैन ……

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१